रास्वपाद्वारा क्षीरेश्वरनाथमा आयोजित दौड प्रतियोगितामा रोशन प्रथम

जनकपुरधाम । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षीरेश्वरनाथ नगरपालिका समितिको आयोजनामा १६ वर्षभन्दा माथिका युवाहरूका लागि ६.५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम रोशन यादव, दोश्रो धिरज यादव र तेश्रो प्रदिप साह भएका हुन्।
उनीहरु मध्ये प्रथम स्थान हासिल गर्ने सहभागीलाई रु. ५,५००, द्वितीयलाई रु. ३,५०० र तृतीयलाई रु. २,५०० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी सबैलाई समेत प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
युवाहरूमा स्वास्थ्य, अनुशासन, सकारात्मक सोच तथा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ४६ जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश सचिवालय सदस्य जयप्रकाश महतो प्रमुख अतिथिका रूपमा तथा धनुषा जिल्ला संगठन विभाग सचिव सरोज पूर्वे विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यस्तै प्रतियोगितामा स्थानीय समेत रहेका रास्वपा मधेश प्रदेश र्याटका उपसभापति आशिष साहको नेतृत्वदायी भूमिका रहेको थियो ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र स्थानीय ट्राफिक प्रहरीले सहयोग गरेको थिए ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले युवाहरूलाई स्वस्थ जीवनशैली, खेलकुद र सकारात्मक सामाजिक गतिविधितर्फ प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।






