महेन्द्रनगरमा निर्माण भएको अकाशे पुल सञ्चालनको तयारीमा

जनकपुरधाम । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुल सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएसँगै रङरोगन तथा सौन्दर्यकरणको काम भइरहेकाले यथाशीघ्र सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो ।

मधेश प्रदेशमा पहिलो पटक बनाइएका गरिएका यी दुई आकाशे पुल पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले जनाएको छ । सडकमा पैदलयात्रुको अत्यधिक चाप हुने क्षीरेश्वरनाथ–५ स्थित महिला विकास चोक, सखुवा चोक र लक्ष्मिनियाँ गाउँपालिकामा करिब रु १० करोड ५० लाखको लागतमा तीन वटा आकाशे पुल निर्माणको योजना अघि बढाइएको थियो । तीमध्ये महेन्द्रनगरका दुई वटा पुलको निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए।

उनका अनुसार सोही सडकखण्डअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा निर्माण भइरहेको तेस्रो पुलको काम पनि तीव्र गतिमा अघि बढेको छ । उक्त पुलको निर्माण मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । दुई फरक निर्माण कम्पनीमार्फत पुल निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका स्थलगत इञ्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक आकाशे पुलको उचाइ पाँच दशमलव छ मिटर, लम्बाइ २९ दशमलव चार मिटर र चौडाइ तीन मिटर रहेको छ । पुल सञ्चालनमा आएपछि पैदलयात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुने विश्वास व्यक्त गरे । पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदलयात्रुको आवागमन हुने बताउँदै उहाँले पुलको प्रयोगले पैदलयात्रुलाई सुरक्षित रूपमा सडक वारपार गर्न सहज हुने उल्लेख गरे ।

स्थानीय बासिन्दाले पनि आकाशे पुल निर्माणलाई सकारात्मक रूपमा लिएका छन् । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहनुभएका स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक पार गर्न निकै जोखिम हुने गरेको बताए ।

उनले भने, “हाम्रो क्षेत्रमा हाटबजार र विद्यालय सडक आसपासमा अवस्थित छन् । पहिले सडक पार गर्दा निकै जोखिम थियो । अब पुल सञ्चालनमा आएपछि विशेषगरी बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई राहत हुने विश्वास छ ।” जनकपुरधाम–ढल्केवर छ लेन सडक मधेस प्रदेशको प्रमुख व्यापारिक तथा यातायात मार्गका रूपमा मानिन्छ । दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने र घनाबस्ती तथा व्यापारिक क्षेत्र हुँदै जाने यस सडकमा पैदल यात्रुको सुरक्षालाई चुनौतीका रूपमा लिइँदै आइएको छ ।

आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम कम हुनुका साथै पैदलयात्रुको आवागमन व्यवस्थित हुने र व्यस्त सडकमा सवारीसाधनको निर्वाध आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया