प्रदेश र स्थानीय तहबाट अनलाइनमार्फत स्वास्थ्य बिमा आबद्धता र नवीकरण सुरु

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले प्रदेश सरकार र स्थानीय तहबाट पनि अनलाइनमार्फत सामूहिक स्वास्थ्य बिमा आबद्धता र नवीकरण सेवा सुरु गरेको छ ।
बोर्डले मङ्गलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाबाट उक्त सेवा सुरु गरेको बोर्डका प्रवक्ता डा पवनकुमार साहले जानकारी दिए।
यसअघि प्रदेश र स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा कागजी प्रक्रियामार्फत आबद्ध गराउँदै आएका थिए । अब बोर्डले सञ्चालनमा ल्याएको ई–पोर्टलमार्फत प्रदेश र स्थानीय तहले आफ्ना नागरिकको सामूहिक आबद्धता र नवीकरण गर्न सक्ने उनले बताए ।
“प्रदेश र स्थानीय तहलाई अनलाइनमार्फत आबद्धता गराउन छुट्टाछुट्टै ‘युजर नेम’ उपलब्ध गराउँछौँ”, उनले भने, “त्यही ‘युजर नेम’ का आधारमा प्रदेश र स्थानीय तहले आफ्ना नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता र नवीकरण गराउन सक्नेछन् ।”
प्रदेश र स्थानीय तहले लक्षित समूह वा स्थानीय बासिन्दाको बिमा शुल्क आफैँ भुक्तानी गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउँदै आएका छन् ।
नयाँ प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय तहले ड्यासबोर्डबाट आफैँ वा दर्ता सहयोगीमार्फत नागरिक तथा लक्षित लाभग्राहीलाई सामूहिक रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन, नवीकरण गर्न, योगदान रकम भुक्तानी गर्न तथा अभिलेख व्यवस्थापन गर्न सक्ने बोर्डका प्रवक्ता साहले बताए ।
बोर्डले गत साउन २९ गतेदेखि नै सबै नागरिकका लागि अनलाइनमार्फत स्वास्थ्य बिमा आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको थियो । हाल करिब एक करोड आठ लाख नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहे पनि ७३ लाख ५१ हजार जना मात्र सक्रिय रहेको बोर्डले जनाएको छ ।






