एभरेष्ट पेपर मिलको लापरवाहीले एक मजदुरको मृत्यु, क्षतिपुर्ति र कारवहीको माग

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित रहेको एभरेष्ट पेपर मिलको लापरवाहीले एक जना मजदुरको मृत्यु भएको छ ।
शनिवार बिहान करिब १० बजेको समयमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका ९ औरहाका मनोज श्रेष्ठको मिलको फित्तामा बेरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिएको छ ।
मिलको फित्तामा भुसा ओसारने तथा सफा गर्ने क्रममा श्रेष्ठको मृत्यु भएको जनाईएको छ ।
आधुनिक समयमा पनि मिलले पुरानै प्रविधि प्रयोग गरेकै कारण मजदुरको मृत्यु भएकोले दोषि मिल संचालकलाई कारवाही हुनुपर्ने स्थानीय युवा नेता सितेश कुमार झा माग गरेका छन् । उनले हेर्दा नै डर लाग्ने ठाउँमा विना सुरक्षा कामदारलाई काममा लगाएर मिल संचालकले हत्या नै गरेको आरोप लगाएको छ । यसमा मिल संचालक प्रत्यक्ष दोषि देखिन्छ तसर्थ पिडित परिवारलाई यथाशिध्र क्षतिपुर्ति दिनुपर्छ र अगामी दिनमा उक्त पुरानो प्रविधि बन्द गर्नुपर्ने उनको माग छ ।
मिल संचालकले क्षतिपुर्ति समयमै नदिए तथा पुरानो प्रविधिलाई विस्थापित नगरे कामदारहरुको नेतृत्व गर्दै संचालक विरुद्ध आन्दोलन गर्ने युवा नेता झाले चेतावनी दिएका छन् ।
यता घटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान तथा मृतक शरिरको पोष्ट मार्टम गर्नको लागि तयारी गरिरहेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक यादवले जनाएका छन् ।
तर, प्रहरीले लास उठाउने बताएपनि मृतक परिवार तथा उक्त मिलका कामदारहरुको नेतृत्वकर्ताले संचालक आफै आएर क्षतिपुर्तिको लागि लिखित सम्झौता नगरे लास उठाउन नदिने बताएका छन् । सो मिलमा विगतमा पनि कामदारको मृत्यु भए पश्चात मृतक परिवारले पाउँने क्षतिपुर्ति दिने आश्वासन दिएपनि समयमा क्षतिपुर्ति नदिएको कारण यस पटक विना लिखित सम्झौता लास उठाउन नदिने उनीहरुको माग छ ।






