मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीले पहिलो जित निकाले, ९१४ मतले एमालेका प्रेमबहादुर पराजित

नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित निकालेको छ । मुस्ताङबाट कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले इन्ट्रीमै बाजी मारेका छन् । अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये सम्भवतः थकाली सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।
उनी होटल व्यावसायदेखि पर्यटन व्यवसायमा जोडिएका थिए ।थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए ।
अहिले कांग्रेसको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा समेत छन् । आफ्ना छोरालाई राजनीतिमा अघि सारेका रोमी राजनीतिमा युवामार्फत परिवर्तनको सन्देश दिन खोजेको बताउँछन् ।
भेनालाई हराए योगेशले
प्रेमबहादुर तुलाचन र योगेश थकाली नातामा साला–भेनाबीच पर्छन् । रोमी गौचन र प्रेम तुलाचन मामा–फुपूका छोरा (सोल्टी) हुन् । मुस्ताङका स्थानीयको भनाइमा कांग्रेस उम्मेदवार योगेशले एमाले उम्मेदवार तुलाचनलाई भेना भन्छन् । त्यसैले मुस्ताङमा एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाभन्दा पनि साला–भेनाको प्रतिस्पर्धाको रूपमा हेरिएको थियो ।
राजनीतिसँगै पर्यटन व्यवसायमा रहेका योगेशले लामो समय निर्माण व्यवसायसँगै राजनीतिमा रहेका तुलाचनलाई पराजित गरेका छन् । स्थानीय स्तरमा बलियो संगठन रहेको एमालेका उम्मेदवार भएका कारण पनि तुलाचन बलिया मानिन्थे ।
३० वैशाखमा भएको स्थानीय चुनावमा पनि एमाले हावी भएको थियाे । एमालेले मुस्ताङका ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष जितेको छ । कांग्रेस एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्षमा सीमित रहेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब ४ सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ । यद्यपि, दामोदरकण्ड गाउँपालिकामा गठबन्धन गरेर कांग्रेसले अध्यक्षमा एकीकृत समाजवादीका देव गुरुङलाई समर्थन गरेको थियो । त्यसले गर्दा,अध्यक्षको मतभारमा पनि कांग्रेसअघि रहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।
मुस्ताङमा नाताको राजनीति
मुस्ताङको राजनीतिमा दुई चीजको प्रभाव बढ्ता रहन्छ । एक, आफन्त । दोस्रो, पैसा । विगतमा उदाहरण हेर्दा चुनाव जित्ने र हार्नेहरूमा आफन्तहरू बढ्ता हुने गरेका छन् । जस्तो, ०५६ सालमा कांग्रेसबाट रोमी गौचन र राप्रपाबाट नरबहादुर हिराचन चुनावी प्रतिस्पर्धामा थिए । उनीहरू नाताले मामा–भाञ्जा पर्दछन् । अझ रोचक त, त्यतिबेला एमालेबाट उम्मेदवार भएका कृष्ण गौचन नातामा भतिज र मालेका उम्मेदवार वीरेन्द्र ज्वारचन दाइ पर्दथे । आफन्तहरूबीचको चुनावी प्रतिस्पर्धामा रोमी गौचन थकालीले बाजी मारे ।
त्यसपछि २०७० को चुनावमा पनि रोमी गौचनले आफन्तसँगै प्रतिस्पर्धा गर्नुपर्यो, त्यो पनि बागीको रूपमा । २०७० मा रोमीको प्रतिस्पर्धी बनेका प्रेम तुलाचन नातामा मामाका छोरा थिए । २०७० मा एमालेका उम्मेदवार थिए, चन्द्रमोहन गौचन । मामाका छोरा अर्थात सोल्टी प्रेमलाई २३ मतले पराजित गरेर रोमी गौचन थकालीले सिंहदरबारको यात्रा तय गरे । अनि, ९ महिना वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत भए ।
रोमीको त्यो दोस्रो संसद यात्रा थियो । संयोगले २०७४ मा फेरि तिनै रोमी गौचन र प्रेम तुलाचनबीच प्रतिस्पर्धा भइदियो । त्यसमा तुलाचनमा देखिएको इगोले पनि काम गरेको थियो । अर्थात्, २०७० मा रोमीलाई हराउन नसकेका प्रेम एमाले प्रवेश गरेर वाम गठबन्धनको उम्मेदवार भई रोमीलाई हराउन चाहन्थे । मुस्ताङको लेतेमा नजिकै घर रहेका यी सोल्टीहरूको चुनावी प्रतिस्पर्धा २०७० यता निरन्तर देखिएको छ ।
४ मंसिरको चुनावमा पनि रोमी र प्रेमकै प्रतिस्पर्धा हुने सम्भावना थियो । प्रेमसँग चुनावी प्रतिस्पर्धा नगर्ने मनसायमा रहेका रोमीलाई कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार बनाउने प्रयास नगरेको पनि होइन । प्रेमले टिकट पाए आफू उम्मेदवार नहुने रणनीतिमा रहेका रोमीले माथिल्लो मुस्ताङका सुवर्ण शेरचनलाई उम्मेदवार बनाउन खोजेका थिए । तर, उनी पनि तयार भएनन् ।
सभापति शेरबहादुर देउवा, नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, शंशाक कोइराला, पूर्णबहादुर खड्कालगायतसँगको सल्लाहपछि रोमीले छोरा योगेशलाई उम्मेदवार बनाउने निर्णय गरे । उम्मेदवार बनाउने अन्तिम दिनसम्म योगेश उम्मेदवार हुने टुंगो थिएन । त्यहीकारण उनीहरूको उम्मेदवारी काठमाडौंबाटै दर्ता भएको थियो ।






