अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौँ – एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २०८ रनको लक्ष्य प्राप्त गरेको छ।
समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालसमक्ष अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन बनाएको हो।
राम्रो सुरुवातका बाबजुत नेपाल पछिल्ला ओभरमा महँगो सावित हुँदा अमेरिकाले २०० रन पूरा गर्यो। नेपालका लागि आशा गरिएका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय करिअरमा पहिलो पटक अमेरिकासँग विकेटविहीन बने।
उनले १० ओभर बलिङ गर्दा ५८ रन खर्चिएका थिए। यसअघि सन्दीप जिम्बाब्वेविरुद्ध पनि विकेटविहीन बनेका थिए। उनी लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटविहीन बनेका हुन्।
६५ रनमा ५ विकेट गुमाएको अमेरिकाका लागि पछिल्लो क्रमले उत्कृष्ट प्रदर्शन गरेको थियो। सातौं नम्बरमा ब्याटिङका लागि आएका शायन जहाङगिरले १०० रनको नटआउट शतकीय इनिङ खेले।
त्यस्तै, ओपनर सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रन बनाए। त्यस्तै, जेसी सिंहले १२ रन बनाएका थिए।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिँदा गुल्सन झाले ३ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीको नाममा २ विकेट रह्यो। ललित नारायण राजवंशीले १ विकेट लिएका थिए।






