बलवामा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै, १० लाख डलर सहयोग

काठमाडौं । महोत्तरीको बलवा नगरपालिका-६ मा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको छ। नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापनाको तयारी गरेको छ।

व्यावसायिक प्रशिक्षण केन्द्रहरूलाई सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजनाअनुसार पहिलो चरणमा बलवामा केन्द्र स्थापना गर्न मन्त्रिपरिषद्ले २०८१ फागुन ६ गते निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८१ फागुन २० गते नेपाल सरकार भूमि सुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा बुधबार जारी विज्ञप्तिअनुसार नेपाल सरकारले श्रम बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाइरहेको छ। साउदी सरकारले बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट स्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको छ। साथै अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको प्राविधिक सहयोगमा महोत्तरी जिल्लामा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी, ललितपुर र विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रहरू मार्फत श्रम बजार लक्षित सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने नीति सरकारले अघि सारेको छ। साथै व्यावसायिक तालिम कार्यक्रमलाई प्राथमिकताका साथ सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको छ।’, विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले दक्ष श्रमशक्ति उत्पादन गर्दै योग्यता र क्षमताका आधारमा सेवा–सुविधायुक्त रोजगारीको अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

बलवा नगरपालिकामा प्रशिक्षण केन्द्र स्थापना हुने भएपछि मेयर राम विजय महतोले खुशी व्यक्त गरेका छन्। उनले यस केन्द्रको स्थापनाले नगरपालिकाको आर्थिक तथा व्यवसायिक वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

यसले बलवा नगरवासी अझ बढी लाभान्वित हुने उनले अपेक्षा गरेका छन्।

प्रशिक्षण केन्द्रका लागि आवश्यक जग्गा प्राप्तिका लागि मेयर महतोले सक्रिय भूमिका खेलेका थिए। उनलाई श्रम मन्त्री शरतसिंह भण्डारीको विश्वासिलो व्यक्तिको रूपमा समेत चिनिन्छ।

प्रतिक्रिया