दोषीहरूमाथि विस्तृत छानबिनसहित यी ५ बुँदामा वीरगञ्ज घटनाबारे सर्वपक्षीय सहमति

पर्सा । वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा शनिवार दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा शनिवार बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको हो ।
सहमति अनुसार उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन र अनुसन्धान गरी कानुनी कारबाही गरिने छ भने अन्तरधार्मिक र साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध हरी कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने बताइएको छ ।
त्यस्तै उक्त घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने र घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने र पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघ/संस्था तत् तत् संस्थाबाट सञ्चालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको बताइएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिवार अपराह्न वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।
झडपमा परी प्रहरीसहित ४० जनाभन्दा बढी घाइते भएका थिए ।
हेर्नुस सहमति-पत्रः
