सोनमा गाउँपालिकाले ‘आधुनिक प्रेम’ को विषयमा जनचेतना फैलाउँदै [सूचनासहित]

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिकाले आफ्ना गाउँपालिकाबासीका लागि आधुनिक प्रेमको विषयमा जनचेतना फैलाउँदै भएका छन्।
गाउँपालिकाले आधुनिक समाजमा मौलाउँदै गइरहेका विविध सामाजिक विषयवस्तुमा जनचेतना फैलाउन १२ वटा बहुआयामिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै ‘आधुनिक प्रेम र युवा–युवतीको भविष्य’ विषयमा जनचेतनामूलक कार्यक्रमसहित अन्य ११ वटा कार्यक्रमका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेको हो।
सोनमा गाउँपालिकाको गाउँसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत ती कार्यक्रमहरू वडा तथा गाउँपालिका स्तरमै सञ्चालन सूचनामा उल्लेख छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ४६ र सार्वजनिक खरिद नियमावली २०६४ को दफा ९९ बमोजिम प्रतिस्पर्धात्मक बोलपत्रमार्फत सबैभन्दा कम दर प्रस्तुत गर्ने गैसस, संस्था वा प्रालिलाई कार्य सम्पन्न गराउने सूचनामा लेखिएको छ। इच्छुक संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात र आर्थिक तथा प्राविधिक प्रस्तावसहित प्रस्ताव पेश गर्न भनिएको छ।
गाउँपालिकाले प्रस्ताव आह्वान गरेको कार्यक्रमहरूमध्ये आधुनिक प्रेम र सामाजिक सञ्जालले बालबालिकामा पार्ने असरजस्ता समसामयिक विषयहरूदेखि महिला हिंसामा शिक्षाको भूमिका, वालहिंसा, वैदेशिक रोजगारी, मुसहर समुदायको सरसफाइ, बालबालिकाको भविष्य, एकल महिला र सामाजिक परम्परा, मलेरिया रोकथाम, सामाजिक परीक्षण, सिलाई कटाई तालिम र लागुऔषध तथा दुव्र्यसन नियन्त्रणसम्मका विषय समावेश छन्। प्रत्येक कार्यक्रमको अनुमानित लागत रु. २९१,००० देखि रु( ९७०,००० सम्मको छ।
प्रस्ताव पेश गर्न चाहने संस्थाले संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र, आर्थिक वर्ष २०८०।८१ को कर चुक्ता प्रमाणपत्र र गाउँपालिकामा संस्था सूचिकृत भएको प्रमाण संलग्न गर्नुपर्नेछ। सोनमा गाउँपालिकाले यी कार्यक्रममार्फत स्थानीय तहमा चेतनाको स्तर वृद्धि, सामाजिक समावेशीकरण र युवावर्गको भावी दिशा निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सूचना







