भोलीदेखि नै मतगणनाको लागि तयारी पुरा

जनकपुरधाम । मंसिर ४ गते आइतवार हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएलगतै मतगणना गरिने भएको छ । क्षेत्रीय निर्वाचन कार्यालयमा मतगणनाको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनुषाका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नंं ३ को मतगणना जनकपुरधामस्थित महेन्द्रनारायण निधी भवनमा, निर्वाचन क्षेत्र नंं ४ को मतगणना क्षिरेश्वरनाथ नपा–४ स्थित जैसीबाबा धर्मशालास्थित निर्वाचन क्षेत्रीय कार्यालयमा, क्षेत्र नं. १ को सवैलामा, क्षेत्र नंं २ को औरहीमा गरिने भएको छ ।
मतदान सकिएपछि मतपेटिका संकलन गरि मुख्य निर्वाचन अधिकृतसहित क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर राति १० बजेपछि मतगणना कार्य शुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुलले बताए ।
मतगणना हुने स्थानमा तारजालीले सुरक्षा घेरा लगाइएको छ । मतगणना स्थलमा सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । मत परिणाम घोषणाका लागि मतदान स्थलमा माइक तथा स्पिकरको व्यवस्था गरिएको छ ।
धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतदानको समय विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म रहेकाले मतदान सम्पन्न भएपछि सुरक्षित तरिकाले सुरक्षाकर्मी र राजनितिक दल र उम्मेदवारहरुको रहोवारमा मतपेटिका आएसँगै मतगणना सुरु हुने जानकारी दिएको छ ।
धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जना मतदाताहरू रहेको छ ।






