प्रादेशिक अस्पताल जनकपुरको बेथिति : अझै सुध्रेन चिकित्सकको बानी, तलब सरकारको सेवा निजीमा

जनकपुरधाम । मधेश स्वास्थ्य प्रतिष्ठान मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सकमध्ये अधिकांशले आफ्नो निजी क्लिनिक वा अस्पतालमा समय बिताउँछन् भन्ने कुरा कसैका लागि नयाँ होइन । तर, विषय विज्ञता बिनै आफ्नो अनुपस्थितिमा अनभिज्ञ र अन्य चिकित्सकलाई बिरामी जाँच्ने गैर कानूनी काम पनि पछिल्लो समय जनकपुरमा फस्टाउन थालेको छ ।
अस्पतालमा आफ्नो ड्युटी हुँदाहुँदै क्लिनिकमै भेटिने डाक्टरलाई न त प्रतिष्ठानले केही भन्न सकेको छ न त प्रदेश सरकारले न त अस्पताल प्रशासनले नै । कारण, तीन तहमै रहेका उच्च पदस्थ व्यक्तिहरू आफै क्लिनिकमा व्यस्त हुन्छन् ।
सरकारको नियम अनुसार बिहान ९ बजेदेखि ५ बजेसम्म अस्पतालमा सेवा दिनुपर्ने हुन्छ । तर, अस्पतालका मेडिकल अधिकृत डा. विभास गोइत यादव प्रायःजसो अस्पतालकै ठिक अगाडी रहेको सविता नव दुर्गा फार्मेसीले सञ्चालन गरेको क्लिनिमा भेटिन्छन् ।
प्रादेशिक अस्पतालको बालरोग विभागमा उनको ड्युटी हुन्छ । विभागीय प्रमुखले तोकेको जिम्मेवारी अनुसार उनी एनआईसीयु, पोषण शाखा र बहिरङ्ग विभागमा खटिनुपर्ने हो । तर, उनको काम ड्युटी रोस्टर अनुसार हुँदैन ।
गत आइतवार अर्थात् असार १७ गतेको अस्पतालको ड्युटी रोस्टरमा डा.गोइतको काम बिहान एनआईसीयुमा थियो । तर, उनी बिहानैदेखि क्लिनिकमा थिए । १२ बजेर ४२ मिनटमा उनले क्लिनिकमा बिरामी जाँचीरहेको नागरिक मिररले प्रमाण नै जुटायो ।
हेर्नुहोस् भिडियो र बिरामी जाँचेको पुर्जा

डा.गोइतले हाल एमबीबीएससम्मको अध्ययन पुरा गरेका छन् । तर, उनले आफ्नो क्लिनिकको पुर्जामा पेडियाट्रिक अफिसर भनेर उल्लेख गरेका छन् । जसको कुनै अर्थ नै लाग्दैन ।
केही समय अघि मात्रै प्रादेशिक अस्पतालको निर्देशकबाट मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा भएका डा.प्रमोद यादवको नाम उल्लेखित बोर्ड भएको क्लिनिकमा डा.गोइत बस्ने गरेका छन् ।
अस्पतालकै दशौं तहमा कार्यरत बालरोग विशेषज्ञ डा.जामुन प्रसाद सिंहको पनि उस्तै अवस्था छ । अस्पतालमा हाजिरी गर्ने तर, जागिर भने आफ्नो निजी क्लिनिक र अस्पतालमा गर्ने गरेका छन् । केही समय अघि डा.सिंहको बारेमा नागरिक मिररले समाचार प्रकाशन गरेको थियो ।
यो पनि : डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने
जसमा ९ महिनामा ७० दिन मात्रै उनले हाजिर गरेका थिए । पछिल्लो समय उनले दैनिक हाजिरी त गर्न थालेका छन् तर, उनलाई अस्पतालमा अझै भेट्न गाह्रो छ ।
डा.सिंहको क्लिनिकमा त यतिसम्म भेटियो कि उनको अनुपस्थितिमा उनकै नामको पुर्जामा अरु नै डाक्टरले बिरामीको उपचार गरिरहेका थिए । जसको प्रमाण यो पुर्जा हो । यस मितिमा डा.सिंह बेलायतमा थिए । तर, उनको नामको पुर्जामा अरु नै डाक्टरले बिरामीको जाँच गरिरहेको प्रमाण नागरिक मिररले फेला पार्यो ।
पुर्जा

अस्पतालका फिजिशयन मनिष पाण्डे पनि अस्पतालमा भन्दा बढी क्लिनिकमा भेट्छन् भने अस्पतालको फोरेन्सिक शाखाका प्रमुख डा.रामदेव चौधरी पनि आफ्नै क्लिनिकमा भेटिन्छन् ।
डा.वैद्यनाथ ठाकुर, डा.अमिय कुमार साह, डा.जितेन्द्र प्रसाद जयसवाल, डा.राजकिशोर पण्डित, डा.जय प्रकाश पण्डित लगायत अधिकांश चिकित्सकहरूलाई अस्पताल समयमा पनि क्लिनिकमा भेटिन सकिन्छ ।
बेला बेलामा प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीले अस्पतालको सेवा सुधारका लागि छड्के हान्ने गरेका त छन् । तर, प्रभावकारी ढङ्गले कुनै कारबाही अघि सारिएको छैन । अस्पताल सुधारका लागि सरकारी नियुक्तिमा रहेका चिकित्सकहरूलाई अनिवार्य ड्युटी समयमा अस्पतालमा हुनुपर्ने विषय र आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन नगरेसम्म समस्या समाधान हुने छाँटकाँट देखिँदैन ।
नागरिक मिररले झन्डै ६ महिना अघि प्रादेशिक अस्पतालका अधिकांश डाक्टर निजी क्लिनिक र अस्पतालमा बिताउँछन् समय भनेर समाचार प्रकाशन गरेपनि त्यसमा कसैको ध्यान पुग्न सकेको छैन । जसका कारण अस्पतालको सेवा प्रभावित बनिरहेको छ ।
यो पनि :-
प्रादेशिक अस्पताल जनकपुरको बेथिति : अझै सुध्रेन चिकित्सकको बानी, तलब सरकारको सेवा निजीमा
प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख क्लिनकमै बिताउँछन् समय
डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने
जनकपुर प्रादेशिक अस्पतालको निवास अझै पूर्व-कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा
प्रादेशिक अस्पताल जनकपुरमा व्यवस्थित जनशक्ति नहुँदाको पीडा कसले बुझिदिने ?






