लोसपा : महन्थ ठाकुरको सम्धी सम्धिनी र छोरी मोह !

जनकपुरधाम । मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारी तथा केन्द्रिय समितिमा शीर्ष नेताहरुको परिवार तथा आफ्न्तहरुलाई भागवण्डा लगाएका छन् । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो तथा शरदसिंह भण्डारीले कन्द्रिय समिति तथा पदाधिकारीमा आफ्नै परिवार तथा आफ्न्तहरुलाई भागवण्डा लगाएका हुन् ।
प्रतिनिधि सभामा ४ वटा सिट मात्रै रहेको लोसपाले सोमबार पदाधिकारी छनौट गर्दै केन्द्रिय समिति विस्तार गरेका छन् । राष्ट्रिय पार्टी समेत बन्न नसकेको लोसपमा ६३ जना पदाधिकारी चयन गरिएको छ ।
परिवारका सदस्य तथा आफ्न्तलाई भागवण्डा लगाउनकै लागि प्रतिनिधिसभामा ४ सिट मात्रै जितेका लोसपाले १ अध्यक्ष, ३ वरिष्ठ नेता, १ वरिष्ठ सह–अध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह–महासचिव, ११ सचिव, २ कोषाध्यक्ष, १ सह–कोषाध्यक्ष र १ प्रवक्ता चयन गरेको छ भने १ सय ८४ जना केन्द्रिय सदस्य चयन गरिएको छ ।
अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष तथा छोरी मिनाक्षीलाई केन्द्रिय सदस्य बनाएका छन् ।
अध्यक्ष ठाकुरले यसअघि सम्धी उमाकान्त झालाई तत्कालीन प्रदेश नम्बर ५ (हाल लुम्बिनी प्रदेश) का प्रदेश प्रमुख बनाएका थिए । त्यसअघि २०६९ को खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्मा मन्त्री बनाएका थिए भने सम्धनी इन्द्रा झालाई समानुपातिक सांसद बनाएका थिए ।
वरिष्ठ नेता राजेन्द्र महतोले ज्वाईँ अनिल महासेठ तथ भतिजा उपेन्द्र महतोलाई महासचिव बनाएका छन् । यद्यपी महासचिव बनाइएका महतोका ज्वाईँ महासेठले महासचिव पद अस्वीकार गरेका छन् ।
महासेठले सोमबार नै फेसबुकमा एक स्टाट्स लेख्दै पद अस्वीकार गरेका हुन् । उनले लेखेका छन्,–‘मलाई महासचिवको जिम्मेवारी दिएको पार्टीलाई धन्यवाद, म महासचिवको अपेक्षाकृत थिइन, जिम्मेवारी साथीहरुको अवमूल्यन हुनु, उचित स्थान पाउन नसक्नु दुःखद अवस्था हो । तसर्थ मेरो नाम महासचिवबाट हटाएर अन्य जिम्मेवार साथीलाई दिन आग्रह गर्दछु ।’
अर्काे महासचिव बनाइएको उपेन्द्र महतो मधेश प्रदेश सभा सदस्यमा सर्लाहीबाट दोस्रो चोटी निर्वाचित सांसद हुन् ।
अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले छोरी सृष्टिलाई सचिव बनाएका छन् । भण्डारी निकट मानिने निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् । राउत भण्डारीको प्रेमिका रहेको र सँगै बस्ने गरेको बेला–बेला चर्चा चल्ने गरेको छ । भण्डारीले पटक–पटक राउतलाई सांसद बनाउने गरेका छन् ।
भण्डारी अहिले लोसपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् ।
पार्टीमा महन्थ ठाकुर अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता तथा सर्वेन्द्रनाथ शुक्ललाई वरिष्ठ सह–अध्यक्ष बनाइएको छ ।
जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।
महासचिवमा परमेश्वर साह, अभिराम शर्मा, केशव कुमार झा, डा. सुरेन्द्रकुमार झा, कविन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्रकुमार झा, विनोद सिंह, देवेन्द्र यादव, अभय सिंह, जयनुल राइन, उपेन्द्र महतो, अनिल महासेठ र अमर यादव छन् ।
निर्जला राउत र कविन्द्रनाथ ठाकुरलाई कोषाध्यक्षको जिम्मेवारी समेत दिइएको छ । डा. आभास लाभलाई प्रवक्ता बनाइएको छ ।






