हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले गाडी भाडामा मात्रै महिनाको एक लाखभन्दा बढी रुपैयाँ खर्चिरहेको छ । पालिकाले दुईवटा चार पाङ्ग्रे गाडी भाडामा लिएको छ । एउटा कार्यालय प्रयोजन र अर्को उपप्रमुखका लागि । इन्धन बाहेका दुइवटै गाडीको भाडा मात्रै पालिकाले मासिक एक लाख साठी हजार रुपैयाँ तिर्नुपरिरहेको छ ।
उपप्रमुख दुर्गाी देवी मण्डलले चढिरहेको बा १६ च ९२६ नम्बरको ‘सुमो गोल्ड’ नगर प्रमुख प्रदीप कुमार यादवको निजी गाडी रहेको पाइएको छ । पालिकामा रहेको गाडी मेयर यादवले प्रयोग गरेपछि उपप्रमुखले पनि आफ्ना लागि गाडीको ‘डिमान्ड’ गरेकी थिइन् ।
त्यसपछि मेयर यादवले एउटा थोथ्रो गाडी खरिद गरी उक्त गाडीको प्रमाणपत्र आफ्नै सम्धीनीको नाममा बनाएर पालिकामा भाडा लगाएर उपप्रमुखलाई दिएका हुन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले उक्त गाडी भाडामा लिएको सम्झौता गरेका छन् ।
उपप्रमुख मण्डलले आफू चढ्ने गाडीको भाडा दर महिनाको ८० हजार रहेको थाहा पाइन् । उनले यति महँगो भाडा तिरेर पुरानो गाडी नचढ्ने भन्दै कयौं पटक मेयरकै टेबूलमा गाडीको साँचो फ्याँकेको स्रोतले जनाएको छ । तर उक्त गाडीको कागजी रुपमा धनी अरु भएपनि वास्तविक धनी मेयर नै रहेकाले मेयरले सम्झाइबुझाई पुनः साँचो उपप्रमुखलाई जिम्मा लगाउँदै आएका छन् ।
हंसपुरमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका एक अधिकृतले भने मेरै पालमा दुईपटक उपप्रमुख मण्डलले गाडीको साँचो फ्याकेर निस्केको बताए । मैलै पनि उपप्रमुखले चढ्न नमानेको गाडी नराख्ने कुरा गरेको उनले सुनाए । तर मेयरले त्यही गाडी राख्न जोडबल गरेपछि त्यो गाडी मेयरकै रहेको पत्ता लागेको पनि उनले बताए ।
आफू निर्वाचित भएकैबेला गाडी लिएकाले सुरुमा त्यति कुरा थाहै पाउन नसकेकी उपप्रमुख मण्डलले बताइन् । उनले भनिन्, ‘मैले गाडीको ८० हजार रहेको थाहा पाएपछि यत्रो महँगोमा थोथ्रो गाडी किन चढ्ने भनेर पटकपटक गाडीको साँचो मेयरलाई बुझाएको थिए । तर, मेयरलै सम्झाउन बुझाउन थालेपछि एउटै पार्टीबाट दुबैजना निर्वाचित भएकाले एउटा गाडी भाडाका लागि किन विवाद गर्ने भनेर फिर्ता लिए ।’
‘पछिल्लो पटक घरबाट अफिस जानेबेला गाडी घुमाउने क्रममा किचिँएर आफ्नै नातिनीको मृत्यू भएपछि यो गाडी मेरा लागि अशुभ रहेको र यो गाडी नचढ्ने सोच बनाएर साँचो मेयरलाई बुझाएको भन्दै उपप्रमुख मण्डलले भनिन्,‘ म अफिसबाट घर फर्किएपछि साँझ मेयरको फोन आयो । आफू बिरामी परेर जनकपुर सिटी हस्पिटलमा भर्ना छु भनेर बिरामी परेको कुरा गरेपछि म तुरुन्तै हस्पिटल पुगे । मेयरसँग कुरा गर्दा मलाई भन्नुभयो, तपाईंलाई अरुले त्यो गाडी नचढ्न सिकाइरहेको छ । त्यसपछि मैले मेयरलाई प्रश्न गरे गाडी छाडेकै कारण तपाईं हस्पिटल भर्ना हुनुभएको छ । चिन्ता नलिनुस् म गाडी छाडदिँन तपाईं घर जानुस भनेर म घर फर्के ।’
आफूले चढ्ने गाडी मेयरको जेठो छोराको सासूको नाममा बिलबूक बनाएर पालिकामा भाडामा लागाएको उपप्रमख मण्डलले बताइन् ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी निर्वाचनकै मुखमा पालिकामा आएका थिए । तर तत्कालीन मेयर रामज्ञान मण्डलले उनलाई हाजिर गराउन मानिरहेका थिएनन् । पछि अधिकारीले अदालतमा मुद्दा गर्दा अदालतले हाजिर गराउन आदेश गरेको थियो । त्यसपछि अधिकारी पालिकामा हाजिर भएका थिए । उनलाई हाजिर गराउनका लागि मेयर प्रदीपले सहयोग गरेका थिए । निर्वाचनमा प्रदीप नै जितेपछि अधिकारी र यादवबीच सम्बन्ध थप घनिष्ट भयो । त्यसैबेला मेयरले थोथ्रो गाडी खरिद गरेर ल्याएपनि नयाँ गाडीकै दरमा अधिकृत अधिकारीले सहजै सम्झौता गरेका थिए ।
नगरपालिकामा एउटा गाडी मात्रै भएकाले तत्कालीन उपप्रमुख रेणु झा पनि आफ्नो कार्याकालमा भाडाकै गाडी चढेकी थिइन् । उपप्रमुखले आफ्नो कार्याकालसम्म एउटै गाडी चढ्ने कार्यालयका लागि लिएका अधिकृतसँगै गाडी बद्लिरहेको छ । अधिकृतले आफ्नो अनुकुल गाडी भाडामा लिने गरेका छन् ।






