जनकपुर न्यूरोको अर्को लापरवाहीः टाउको अपरेशन गर्न बेहोस पारिएका बिरामीलाई होसमा ल्याउन छातीको पनि अपरेशन गर्न खोजेपछि…

जनकपुरधाम । जनकपुरधाम उपमहानगपालिका–१ की ५० वर्षीया सोनाबती सदा १४ दिनदेखि अस्पतालमा उपचारत्त छिन् । गएको भदौ २८ गते मोटरसाइकल दुर्घटनामा घाइते भएकी सदा जनकपुर न्यूरो हस्पिटलको उपचारपछि थप जोखिममा परेकी हून् । कारण, न्यूरो हस्पिटलले उनको टाउकोको शल्यक्रियामा लापरवाही गरेको परिवारजनको आरोप छ ।

जनकपुर न्यूरो हस्पिटलमा अन्तिम रिपोर्ट नआउँदै अति संवेदनशील रहेको टाउकोको शल्यक्रिया गरेका थिए । सिटी स्क्यानको अन्तिम रिपोर्ट नै नहेरी न्यूरोका चिकित्सकले (प्रारम्भिक) फिल्म इमेजको अधारमा शल्यक्रिया गरेपछि सादा बेहोस भएकी थिइन् ।

पाँच दिनसम्म उनलाई होस नआएपछि परिवारका सदस्यले जनकपुर न्यूरोबाट काठमाण्डु मेडिकल कलेज (केएमसी) लगेपछि घटना बाहिर आएको हो । न्यूरोका चिकित्सकले टाउकोमा जमेको सात एमएम रगत हटाएको दाबी गर्छन् । तर, केएमसीमा पुनः सिटी स्क्यान गरी हेर्दा टाउकोमा अझै साढे सात एमएम रगत रहेको बताएपछि बिरामी पक्ष थप चिन्तामा परेका छन् । केएमसीका चिकित्सकले जनकपुर न्यूरोको लापरवाही भएको कारण उपचार गर्न मानेका थिएनन् । त्यसपछि अहिले रामजानकी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

बिरामी पक्षका महेश यादवका अनुसार जनकपुर न्यूरोको रिपोर्ट अनुसार टाउकोमा सात एमएम रगत जमेको थियो । शल्यक्रिया गरेर हटाएको र सो वापत साढे पाँच लाख रकम पनि लिएको छ । तर, सात दिनपछि काठमाडौँको केएमसीमा गरेको सिटी स्क्यानको रिपोर्टमा साढे सात एमएम रगत अझै देखाएपछि जनकपुर न्यूरो हस्पिटलले ठगेको महेशको गुनासो छ । केएमसीमा लगेपछि त्यहाँका चिकित्सकले जनकपुर न्यूरोको रिपोर्ट मागेका थिए । हामीले सुरुदेखि नै सिटी स्क्यानको रिपोर्ट मागेका थियौं । तर न्यूरोका चिकित्सकले फिल्म रिपोर्ट मात्रै दिएका थिए । रिपार्टका लागि बारम्बार ताकेदा गरेपछि दरभंगा सिटी स्क्यानका सञ्चालक केदार यादवले ११ दिनपछि ह्वाटसअपमा रिपोर्ट पठाएका थिए । तर, उक्त रिपोर्टमा चिकित्सकको हस्ताक्षर छैन् । र, शल्यक्रिया भएको सात दिनपछिको मितिको सिटी स्क्यान गरेको रिपोर्ट दिएका छन् । अर्थात रिपोर्ट आउनु अघि नै जनकपुर न्यूरोले शल्यक्रिया गरेको यही रिपोर्टबाट पनि पुष्टी हुन्छ ।

बीचौलियामार्फत यसरी लगे न्यूरोमा

जनकपुरधाम–१ मुसहरीटोस्थित जमुनियाका मनोज यादवको मोटरसाइकलमा ठोकिएर भदौ २८ गते सोनाबती घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेको मोटरसाइकल चालक मनोजले बताए ।

मनोजका अनुसार प्रादेशिक अस्पतालका चिकित्सकले आकस्मिक कक्षमा राखेर उनलाई उपचार गर्न थाले । टाउकोमा चोट लागी रगत बगिरहेको थियो । रगत रोक्न तत्काल चिकित्सकले दुईवटा टाँका लगाएर भित्रीको चोट हेर्न सिटी स्क्यान गर्न सुझाव दिए । २८ गते शनिवारको दिन भएकाले प्रादेशिकमा सिटी स्क्यान भएन । चालक मनोजले आफन्त महेश यादवलाई फोन गरेर बोलाएर दरभंगा सिटी स्क्यान पुगेको बताए ।

त्यहाँ पुग्दा दरभंगा सिटी स्क्यानका सञ्चालक केदार यादवले जनकपुर न्यूरो हस्पिटलमा आफ्नै सिटी स्क्यान रहेको भन्दै त्यहाँ लगेको मनोजले सुनाए । सिटी स्क्यानको फिल्म इमेज हेरेर न्यूरोका चिकित्सकले हेरेपछि सोनाबतीको टाउकोमा रगत जमेको भन्दै तत्काल शल्यक्रिया गरेर निकाल्नुपर्ने सुझाव दिए । तर मनोजले जनकपुरमा शल्यक्रिया नगराउने बाहिर लग्ने मानसायमा थिए । ‘त्यसपछि न्यूरोका मान्छेले घाइते परिवारका सदस्यहरूलाई उक्साउन सुरु गरे,’उनले भने,‘एक घण्टामा शल्यक्रिया भएन भने ज्यान जान सक्ने डर देखाए । तर मैले जनकपुर न्यूरोमा शल्यक्रिया नगराउने अडान लिइँ । अन्त्यमा न्यूरोले प्रहरीलाई बोलाएर मलाई पक्राउ गर्न लगाए ।’

त्यसपछि पीडित परिवारको दबाबमा आएर सोही हस्पिटलमा शल्यक्रिया गराएका थिए । तर, पाँच दिनसम्म पनि बिरामी सोनावती अचेत नै रहँदा सोधखोज गर्दा न्यूरोका चिकित्सकले पुनः छातीको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । पीडित पक्ष डराएर त्यहाँबाट काठमाडौँस्थित ‘केएमसी’ हस्पिटलमा उपचार गराउन लगे । तर त्यहाँका डाक्टरले उपचार गर्न नमान्दै बिरामीको स्वास्थ्य अवस्था दयनीय रहेको र बाँच्ने अवस्था अति न्यून रहेको जानकारी दिएको मनोजले बताए ।

अन्य अस्पतालका चिकित्सकहरूले फिल्म इमेजको अधारमा ट्याबलेट दिन पनि नमिल्ने बताउँछन् । तर, शल्यक्रिया नै गरेर जनकपुर न्यूरोले लापरवाही गरेको दावी गर्छन् । ‘बिरामीको ज्यानसँग खेलवाड गरेको छ । यो मेडिकल पेशाको दुरुपयोग हो,’एक चिकित्सकले भने ।

यस विषयमा जनकपुर न्यूरोका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजय राउतले कुनै प्रतिक्रिया दिन मानेनन् । यही विषयमा थप जानकारी र अस्पताल पक्षको धारणा बुझ्न पटक–पटक फोन/म्यासेज गर्दा सम्पर्कमा आउन चाहेनन् ।

यो पनिः जनकपुर न्यूरोः सिटी स्क्यानको गलत ‘रिपोर्ट’ तयार गरी ‘अप्रेशन’ गर्न खोजेपछि….

जनकपुर न्यूरो अस्पताल : जहाँ समान्य चोटपटकमा ‘अप्रेशन’ को नाममा लाखौँ असुलिन्छ

बिरामीका लागि काल बन्दै जनकपुर न्युरो अस्पताल : पैसा आए उपचार, नआएमा तमसुक बनाएर रिफर

प्रतिक्रिया