विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि

जनकपुरधाम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको सीता–राम विवाह महोत्सवअन्तर्गत मटकोर विधि विधि हुँदैछ ।

मिथिलाको विधिविधानअनुसार जनकपुरधामस्थित गंगाासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। सोही उत्खनन् गरिएको माटो जानकी मन्दिरमा ल्याएर मडवा बनाउने चलन छ। मडवामा बेहुला–बेहुली बस्ने गर्दछ।

त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्सेनि विवाह पञ्चमी महोत्सवमा माटो लगिने परम्परा रहेको जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए। मिथिलाको विधिविधानअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ।

मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथाझाकीसहित स्थानीय महिलासहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिइसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ। मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ।

मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा चना, बदाम, पुरी र खिर वितरण गर्ने चलनअनुसार जानकीको तर्फबाटमटकोरका लागि पुगेका श्रद्धालुलाई प्रसाद वितरण गरिएको थियो। मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्त्वपूर्ण विधि मानिन्छ। रामजानकी मन्दिरका महन्थसहित पोखरीबाट पवित्र माटो ल्याइ स्वयंवर (विवाह)को अघिल्लो दिन मण्डप बनाउने यो विधिलाई ‘मटकोर’ भनिन्छ।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिनेछ।

शनिबार तिलकोत्सव सम्पन भएको थियो ।महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १२ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुन्छन् । शनिबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार ) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो अर्थात इंगेजमेन्ट हो । तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइदँैछ ।

प्रतिक्रिया