बारा २ : उपेन्द्रलाई हराउन मोर्चाबन्दी, शिवचन्द्र कुशवाहा जनमतबाट उठ्ने सम्भावना

जनकपुरधाम । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनी निर्वाचित बारा क्षेत्र नम्बर २ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसको प्रक्रिया निर्वाचन आयोगले सुरु गरिसकेको छ ।
चैत २० मा मनोनयन र वैशाख १० मा उपनिर्वाचनको कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ ।
उपनिर्वाचन घोषणा भएसँगै बारा २, तनहुँ १ र चितवन २ बाट चुनाव लड्न विभिन्न नेताहरूले गृहकार्य थालेका छन् । बारा २ मा उपराष्ट्पतिमा निर्वाचित यादवको ठाउँ खाली भएको छ भने तनहुँ १ मा राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । जबकी चितवन २ बाट निर्वाचित रविलामिछानेको सांसद पद खारेज भएपछि यी क्षेत्रमा एकैपटक उपनिर्वाचन हुन लागेको हो ।
अरु निर्वाचन क्षेत्रभन्दा पनि बारा २ बढी चर्चाको विषय बनेको छ । त्यहाँ हेभीवेट नेताहरू चुनाव लड्ने चर्चा छ । त्यहाँ हुने उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नै चुनाव लड्ने चर्चा चलिरहेको छ । यसअघि मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित यादवले रामसहायलाई उपराष्ट्रपति बनाएर आफ्नो लागि बारा २ को बाटो क्लियर बनाएको पनि चर्चा सुनिन थालेको छ । सप्तरीबाट पराजित भएपनि अब बारा २ बा चुनाव जितेर संसद छिर्ने दाउमा अध्यक्ष यादव रहेको कतिपयको टिप्पणी छ ।
अर्कोतिर त्यही क्षेत्रबाट चुनाव जितेर संसद छिर्ने दाउमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको पनिल चर्चा सुरु भएको छ । २०७४ को निर्वाचनमा धनुषा ३ बाट जितेका तर, गत निर्वाचनमा सर्लाही २ फर्केका महतो पनि पराजित भएका थिए । उनी माओवादी केन्द्रका उम्मेदवार महेन्द्र राय यादवसँग पराजित भएका थिए । अहिले उनले आफ्नो सम्पूर्ण ध्यान बारा २ मा केन्द्रित गरेका छन् ।
महतो निकट स्रोतका अनुसार त्यसका लागि उनले आफ्ना निकटस्थहरूसँग छलफल समेत सुरु गरिसकेका छन् ।
उपेन्द्र यादवलाई रोक्न त्यहाँ जनमत पार्टीले समेत आफ्नो कार्ड खेलिसकेको छ भने एमाले पनि आफ्नै दाउमा छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गढीमाई शक्ति पीठको दर्शन गरेर मिसन बारा २ अभियान नै सुरु गरिसकेका छन् ।
अर्कोतिर मङ्सिर ४ को चुनावमा रामसहाय यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा समेत चुनाव लड्ने मनस्थितिमा छन् । उनी सकभर पार्टीबाटै टिकट लिएर नभए बागी लडेर पनि चुनाव जित्ने मुडमा देखिएका छन् । मङ्सिर ४ को चुनावमा ३ सय ५४ मतले मात्रै पराजित कुशवाहाले १३ हजार ४ सय ६८ मत पाएका थिए भने विजयी उपराष्ट्रपति यादवले १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए ।
पछिल्लो चुनावमा जसपा एमालेसँग गठबन्धन गरेर लडेको थियो । तर, अहिले भने समिकरण फरक छ । अहिलेको सरकारमा जसपाको पनि जाने योजना छ । त्यसकारण आगामी निर्वाचनमा चुनावी समिकरण फरक देखिने छ । माओवादी केन्द्रका नेता कुशवाहाले त्यही हिसाबले पुनः मत आउने र आफू जित्नेमा ढुक्क रहेकोले जुनसुकै हालतमा चुनाव लड्ने दावी गर्दै आएका छन् । तर, भनेजतिको सजिलो भने उनलाई छैन ।
यता माओवादी केन्द्रले उक्त क्षेत्रमा उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएर कुशवाहालाई अन्यत्र व्यवस्थापन गर्ने योजना बनाइरहेको बुझिन्छ । कारण, पछिल्लो डेढ दशक यताको राजनीतिलाई नियाल्ने हो भने कथमकदाचित बाहेक माओवादी अध्यक्ष प्रचण्डलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दह्रो साथ छ ।
रामसहायसँग ३ सय ५४ मतले मात्रै पराजित भएका कुशवाहा, जसपा अध्यक्ष यादव, लोसपा नेता महतो त्यस क्षेत्रका लागि हेभीवेट उम्मेदवार हुने देखिन्छ ।
जसपा अध्यक्ष यादव, महतो र राउत हाल १० दलीय गठबन्धनमा छन् । तर, गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि मित्रवत प्रतिस्पर्धामा महतो, राउत र यादवका पार्टीले प्रतिस्पर्धा गर्ने सम्भावना देखिन्छ ।
यता गठबन्धनको निर्णयले कुशवाहालाई उम्मेदवारी दिनबाट रोक्न सक्ने सङ्केत देखिएपछि जनमत पार्टीले उनलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाउन प्रयास गरिरहेको जनमत पार्टीका एक केन्द्रिय सदस्यले बताएका छन् ।
जनतम पार्टीकै एक शीर्ष नेता भन्छन्,—‘हामीले अहिले नै त्यस क्षेत्रमा कसलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छैनौँ । तर, कुनै प्रभावशाली व्यक्तिलाई नै उम्मेदवार बनाउने प्रयास भईरहेको छ ।’
पछिल्लो निर्वाचनको मत परिणाम हेर्ने हो भने जनमत पार्टीले माओवादी केन्द्रका कुशवाहा बाहेका अन्य उम्मेदवार खडा गरे यादवलाई हराउने प्रयास विफल हुने देखिन्छ । पछिल्लो निर्वाचनमा जनमत पार्टीका राजेश साहले २ हजार ७ सय २५ मत प्राप्त गरेका थिए ।
पहिले माओवादीमै रहेका कुशवाहा बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति गठन गरेपछि उतै लागेका थिए । तर, २०७४ को चुनावताका फेरी माओवादीमै फर्केर चुनाव लडेका थिए । त्यतिखेर पनि उनी रामसहायसँग झिनो मतान्तरले पराजित भएका थिए ।
मधेसको राजनीतिमा यादवलाई पछारेपछि मात्रै आफ्नो करियर बन्ने टार्गेट गरेका डा.राउत सप्तरीबाट चुनाव जितेपछि उनीप्रति निकै आक्रामक देखिएका छन् । अझ रोचक त के छ भने उपराष्ट्रपतिको चुनावमा उनको उम्मेदवार हारेपछि अझै आक्रामक बनेका हुन् ।
रामसहाय उपराष्ट्रपति निर्वाचित भएपछि त्यस क्षेत्रबाट चुनाव जितेर संसद छिर्ने दाउमा रहेका उपेन्द्रलाई त्यहाँ पनि मधेस निकट पार्टीहरूले घेराबन्दी गरेर फेरि चुनाव हराउने दाउमा छन् । अर्कोतर्फ यादव चुनाव हारे उनको राजनीतिक करियर नै लगभग चौपट हुने आँकलन एकाथरीको छ । तर, मधेस राजनीतिको चतुर खेलाडी यादवको जित करिब करिब निश्चित रहेको ग्राउण्डमा देखिन्छ ।
मङ्सिर ४ को निर्वाचनमा त्यस क्षेत्रबाट जसपाकै बागी उम्मेदवार रामकिशोर यादवले तेस्रो सबैभन्दा बढी मत पाएका थिए । उनले ११ हजार ४३ मत प्राप्त गरेका थिए । अहिले उनी जसपा नेपालमा फर्किसकेका छन् ।
प्रदेश सभातर्फ पनि बारा २ का दुबै क्षेत्रमा जसपा उम्मेदवारहरू शारदा शंकर प्रसाद कलवार र बच्चा राउत अहिरले विजयी प्राप्त गरेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका कलवार चुनाव जितेर फेरी जसपा नेपालमै फर्किसकेका छन् ।
त्यस क्षेत्रमा जसपाको समानुपातिक मत हेर्दा पनि अध्यक्ष यादव नै जित्ने सम्भावना देखिन्छ । त्यहाँ समानुपातिकतर्फको मत परिणाम अनुसार पनि जसपा नै पहिलो स्थानमा छ ।
१३ हजार २ सय ४२ मतसहित जसपा पहिलो स्थानमा छ भने काँग्रेस ११ हजार १ सय ७९ मत सहित दोस्रो स्थानमा छ । त्यसपछि एमालेको ९ हजार १ सय ९३, जनमत पार्टीको ८ हजार ८ सय ४६, लोसपाको ४ हजार २ सय ३५, नागरिक उन्मुक्ति पार्टीको तीन हजार ७ सय ९४, माओवादीको तीन हजार २ सय ६५, नेपाल संघीय समाजवादी पार्टीको दुई हजार ३ सय ६६, एकीकृत समाजवादीको एक हजार ९ सय ९६, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ४ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ सय ९२ समानुपातिक मत रहेको थियो ।
अहिले १० दलीय गठबन्धनकै साझा उम्मेदवार भएको अवस्थामा गत निर्वाचनमा आएका सबै दलको मत जोड्दा ४६ हजार ५ सय ५७ मत छ । त्यहाँ जसपाबाहेक मधेस केन्द्रित दलहरू जनमत, लोसपा र नागरिक उन्मुक्तिको समानुपातिक मत १६ हजार ८ सय ७५ मात्रै छ । यसअघि जसपालाई सघाएको एमालेले तीन मधेस केन्द्रित दलसँग गठबन्धन गर्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा छ । त्यस्तो अवस्थामा पनि सत्ता गठबन्धनकै मत अगाडि देखिन्छ । एमाले, जनमत, नागरिक उन्मुक्ति र लोसपाको समानुपातिक मत जोड्दा २६ हजार ६८ पुग्छ ।
यता त्यस क्षेत्रमा राजेन्द्र महतो र शिवचन्द्र प्रसाद कुशवाहा दुबै जना उम्मेदवार भए उपेन्द्र यादवलाई जित्न झन सहज हुने बताईन्छ । बारा २ मा जातीय समिकरणको हिसाबले महतो र कुशवाहाबीच भोट डाईभर्ट भएर अध्यक्ष यादव जित्न सक्ने आँकलन छ ।
त्यस क्षेत्रमा सबैभन्दा बढी यादव जातीका मतदाता छन् । यादव जातीका जनसङ्ख्या मात्रै होईन त्यहाँ जसपाको संगठन पनि मजबुत छ ।
जसपाले बाराबाटै उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री बनाएको छ । त्यसकारण पनि बारा २ का मतदाताहरु जसपाबाट उम्मेदवार बन्ने यादव प्रति झुकाव बढाएको देखिन्छ ।
अर्कातिर यस क्षेत्रमा यादव मतदाता करिब ३० देखि ३५ हजारसम छन् । र, चुनाव जित्न करिब १५ देखि २० हजारसम्म मत निर्णायक हुने देखिन्छ । चुनावमा जातीय फ्याक्टर पनि त्यति नै प्रभाव पार्छ । यसरी हेर्दा चुनावमा अध्यक्ष यादवले जातीय कार्ड मात्रै खेल्दा पनि जित सहजै निकाल्न सक्ने देखिन्छ ।
उपनिर्वाचनमा जुनसुकै दृष्टिकोषणले हेर्दा पनि जसपा अध्यक्ष यादव नै जित्ने सम्भावना देखिन्छ । तर पनि सप्तरी जस्तै मुडमा बारामा जनमानस उत्रियो भने यादवलाई जिताउन कुनै फ्याक्टर काम नलाग्ने समेत राजनीतिकि विश्लेषकहरूक बताउँछन् ।
एकातिर सिके राउतले दिएको अभिव्यक्ति पनि खराब होईन राजनीतिज्ञहरू भन्छन्,–त्यहाँका जनताले पनि आफ्नै गाउँ ठाउँको नेता पाउनुपर्ने उनीहरूको अधिकार पनि हो । तर, यहाँ सत्ताको लागि जे पनि हुनसक्ने रहेको उनीहरूको तर्क छ ।






